ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी ज्योतिष
शुक्र ग्रहको पौराणिक कथा
महाभारत आदि पर्वको अनुसार शुक्राचार्य दानवका पुरोहित तथा योगका आचार्य हुन्। महाभारत तथा मत्स्य पुराणको अनुसार शुक्राचार्यले शिवलिंगको स्थापना गरी यस्तो कठोर तपस्या गरे कि भगवान शंकर स्वयं प्रकट भए। शुक्राचार्यले शंकरजी को स्तुति “अष्ट मूत्र्तयाष्टक स्तोत्र” ले गरे। शुक्राचार्यले आफ्ना शिष्य तथा दानवहरुका लागि भगवान् शंकरको जो आराधना गरे त्यस्तो आराधना आजसम्म कसैले पनि गरेका छैनन्। त्यसकारण भगवान् शंकरले एकमात्र उनैलाई मृत– संजीवनी विद्याको वरदान दिए। साथमा अरु पनि वरदान दिए जस्तै—उनी ग्रहहरुमा सर्वोपरि रहने छन्। शुक्रको कान्ति सूर्य तथा अग्निभन्दा पनि धेरै हुनेछ तथा ती जब सम्मुख भए भने स्त्री तथा पुरुषद्वारा कुनै पनि प्रारम्भ गरेको कार्य पूर्ण हुने छैन। शुक्र पूर्व दिशामा कृत्तिका नक्षत्रदेखि अश्लेषा नक्षत्र पर्यन्त सात नक्षत्रबाट गोचर गर्दा सन्मुख भनिएको छ। अगाडिका सात नक्षत्रहरुमा शुक्रको गोचर पश्चिम सन्मुख र अगाडिका सातदेखि शुक्रको गोचर दक्षिण सन्मुख हुन्छ अर्थात् मघादेखि विशाखा तक। अनुराधादेखि श्रवण पर्यन्त अभितीत्लाई पनि लिएर जो सात नक्षत्रहरू अर्थात् धनिष्ठादेखि भरणी पर्यन्त शुक्रको गोचर उत्तर सन्मुख हुन्छ। भगवान् शंकरले शुक्राचार्यलाई यो पनि वर दिनुभएको छ कि विवाह आदि धार्मिक कृत्य शुक्रको आकाशमा उदित भएपछि मात्र अर्थात् सूर्यबाट अस्तगत भएका शुक्र जब छुट्छन् तब मात्र हुन्छ। नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशी शुक्रसंग सम्बन्ध भयो भने मात्र शुभ मानिन्छन्। शुक्रको आराधना गर्नेहरू पुंसकत्व प्राप्त गरी सन्तान सुख प्राप्त गर्छन्। शुक्रले जुन् लिङ्गको स्थापना गरी पूजा गरेका थिए उसलाई शुक्रेश भनिन्छ तथा ती शंकरजीको उदर (पेट) मा वास गरेपछि मात्र शुक्र (वीर्य) को साथमा बाहिर आउछ।
भागवत महापुराणको अनुसार शुक्राचार्यलाई एउटै आँखाले मात्र काम चलाउन परेको छ। किनकि राजा बलीले जब वामन अवताररूप भगवानलाई तीनपग भूमि दानमा दिनका लागि कमण्डलुबाट जल निकाल्न थाले तब त्यो टुटीमा शुक्राचार्यले आफ्नो आँखा राखेर टुटी बन्द गरिदिए, वामन अवतार भगवानले एउटा कुशको तिन्काले कमण्डलुको टुटी सफा गर्न थाल्नुभयो र त्योकुशको तिन्काले शुक्राचार्यको एउटा आँखो फोरिदियो। त्यसैले शुक्राचार्य काना भएका हुन्। ऋषि भृगुका छोरा भए उषान् जो स्वयं सिद्ध ठूला ऋषि भए। ती उषान् लाई नै हामी शुक्राचार्यको नामले चिन्दछौ। कालान्तरमा दानवहरुको राजा अन्धकले देवताहरुलाई खूब सतायो र अन्धकको सेनामा घायल तथा मृत भएका दानवहरुलाई शुक्राचार्यले मृत–संजीवनी विद्याको प्रयोग गरी जीवित गराइदिन्थे। अन्धक तथा त्यसका सेनाबाट पीडित देवगण भगवान शंकरजी को पास आफ्नो व्यथा सुनाउन गए। किनकि शंकरजीको आशीर्वादको कारण शुक्राचार्यले दानवहरुलाई अजेय बनाएका थिए। भगवान् शंकरले आफ्नो वाहन नन्दीलाई शुक्राचार्यलाई लिन पठाए। नन्दी जब शुक्राचार्यलाई लिएर भगवान् शंकरजी को सन्मुख गए तब शंकरजीले शुक्राचार्यलाई जीवितै निले, त्यस पछाडि युद्धमा दानवहरु शक्तिहीन भई देवतासंग पराजित भए। पछाडि भगवान् शंकरजी को वीर्यबाट शुक्राचार्य प्रकट भए जसलाई भगवान् शंकर र माता गौरीले पुत्रको रूपमा स्वीकार गरेर शुक्रलाई अमरत्वको वरदान दिए। मत्स्य पुराणको अनुसार भगवान् शंकरको वरदानको कारण शुक्र यो लोक तथा परलोक–का सारा सम्पत्तिका स्वामी हुन्। महाभारतको आदि पर्वको अनुसार शुक्र केवल सम्पत्ति मात्रका स्वामी होइनन् अपितु औषधी, मन्त्र तथा सबै नव–रसका पनि स्वामी हुन्। शुक्रको सामथ्र्य अद्भुत छ परन्तु शुक्रले आफ्नो सारा सम्पत्ति आफ्ना शिष्य असुर तथा दानवहरुलाई दिएर स्वयं तपस्वीको जीवन स्वीकारेका छन् । ज्योतिषशास्त्रमा शुक्रलाई शुभग्रह मानिएको छ र फलदायक पनि।