जन्मवार फल

ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

तपाईंको जन्मवार के हो ?

हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल 
आइतवार जन्मने व्यक्तिहरू
पित्ताधिकोsतिचतुरस्तेजस्वी समरप्रिय: ।
दाता तथा महोत्साही सूर्यवारे भवेन्नर:॥
आइतवार जन्मने व्यक्तिहरू परमचतुर, तेजस्वी, युद्धप्रिय, दानी, महा उत्साही र पित्त प्रकृतिवाला रहन्छन् ।

सोमवार जन्मने व्यक्ति

मतिमान् प्रियवाक्शान्तो नरेन्द्राश्रयजीविक: ।
समदु:खसुख: श्रीमान् सोमवारे भवेत्पुमान् ॥
सोमवार जन्मने व्यक्ति बुद्धिमान्, प्रियवक्ता, शान्त स्वभावको, राज्य वा नेतामा आश्रित, सुखदु:खलाई समान रूपले हेर्ने र धनी व्यक्ति हुन्छन् ।

मङ्गलवार जन्मने व्यक्ति

वक्रबुद्धिर्धराजीवी रणोत्साही महाबली ।
सेनानीस्ततन्त्रपालो वा धरापुत्रदिनोद्भव: ॥
मङ्गलवार जन्मने व्यक्ति कुटिल (चलाख बुद्धि भएका), कर्मशील, युद्ध प्रिय, महाबली, सेनापति या जनपालक (समाजसेवी) हुन्छन् ।

बुधवार जन्मने व्यक्ति

लिपिलेखनजीवी स्यात् प्रियवाक्पण्डित: सुधी: ।
रूपसम्पत्तिसंयुक्तो बुधवासरसम्भव: ॥
बुधवार जन्मने व्यक्ति पढाइलेखाइबाट जीवका आर्जन गर्नेवाला, प्रियवक्ता, पण्डित (विद्वान्), बुद्धिमान्, सुन्दर अनुहार भएका र सुख सम्पत्तिले युक्त रहन्छन् ।

बिहीवार जन्मने व्यक्ति

धनविद्यागुणोपेतो विवेकी जनपूजक: ।
आचार्य: सचिनो वा स्याद् गुरुवासरसम्भव: ॥
बिहीवार जन्मने व्यक्ति धनवान्, विवेकी, देश विदेशमा मान्य, विद्वान् र राजकीय पदले युक्त रहन्छन् ।

शुक्रवार जन्मने व्यक्ति

चलचित्त: सुरद्वेषी धनक्रीडारत: सदा ।
बुद्धिमान् सुरभो वाग्मी भृगुवारे भवेन्नर: ॥
शुक्रवार जन्मने व्यक्ति चञ्चल स्वभाव भएको, आस्था कम भएको, धन कमाउन सक्ने र काममा लिप्त रहने, बुद्धिमान्, सुन्दर र प्रिय वक्ता रहन्छन् ।

शनिवार जन्मने व्यक्ति

स्थिरज: स्थिरगी: क्रूरो दुष्टचित्त: पराक्रमी ।
अधोदृङ् नखल: केशी वृद्धनारीरत: सदा ॥
शनिवार जन्मने व्यक्ति स्थिर वचन (बोलीको पक्का), क्रोधी, दुष्चरित्र भएको, पराक्रमी, नीचदृष्टि भएको, विकृति नङ, लामो केश र ज्येष्ठ नारीमा आशक्त रहनेवाला हुन्छन् ।

उपरोक्त जन्मवारको फल जे जस्तो भएपनि हाम्रो जन्म समयमा सौर्यमण्डलमा विद्यमान ग्रहहरूको पनि कुण्डली मार्फत विस्तृत रूपमा अध्ययन र विश्लेषण गर्न आवश्यक रहन्छ, अत: जन्मवार फल नै सर्वैसर्वा हो भन्न सकिन्न ।

ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

Leave a Comment

Your email address will not be published. Required fields are marked *