
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

वामन जयन्ती
भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनाश गर्न लिनुभएको थियो।
वामन अवतार
वामन अवतारलाई भगवान् विष्णुको एउटा महत्त्वपूर्ण अवतार मानिने गरिन्छ। एक जना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई नै पराजित गर्न थालेपछि भगवान् इन्द्र विष्णु भगवान् समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान् इन्द्र मार्फत दैत्य राजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान् विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाए। भगवान् इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान् विष्णुको वामन अवतारको जन्म भएको हो।
त्यसपछि कश्यप ऋषिहरूसँग आफ्नो संस्कार सिकेका भगवान् वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृग चर्म, मरीचिसँग पलाश दण्ड, आंगिरस सँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डलु,माता अदिति सँग कौपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्य राजा बलिलाई भेट्न गएका हुन्। त्यति बेला दैत्य राजा बलि नर्मदा नदिकै उत्तरी तटमा अश्वमेध यज्ञ गरिरहेका थिए।
वामन अवतार र राजा बलिको कथा
भगवान् वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन् र राजा बलिसँग भिक्षा माग्छन्। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान् त्यहाँ आउने बित्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान् वामनले वलीसँग ३ पाइला भूमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भूमि दिने वचन दिन्छन्। भगवान् वामनले पहिलो पाइलामा स्वर्ग अनि दोस्रो पाइलामा धर्ती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्न आग्रह गर्छन्। सबै थोक गुमाई सकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान् वामनलाई प्रसन्न पार्दछ अनि भगवान् वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्
त्यसैले पनि भगवान् इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएकोमा भगवान् विष्णुको वामन अवतारको निक्कै महत्त्व रहेको पाइन्छ।
निजामती सेवा दिवस
नेपालमा हरेक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रूपमा नियुक्त प्रशासक या भनौँ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस ।
निजामती सेवा दिवसको पृष्ठभूमि
विसं २०६२ साल वाट यस दिवसको सुरुवात भएको हो, वास्तवमा तत्कालीन प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले विसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात् सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि विभिन्न निजामती कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरू आयोजना गर्दछ ।
निजामती सेवा को महत्त्व : म्याक्स वेवरको व्याख्या
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरूको भूमिका अतुलनीय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरूबाट व्यवहारले सुशासन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्व प्रसिद्ध समाजशास्त्र एवं दार्शनिक म्याक्श वेवरले कर्मचारीतन्त्र या भनौँ निजामतीतन्त्र लाई आफ्ना विभिन्न पुस्तक र विचारहरूमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रका रुपमा व्याख्या गरेका छन् ।
उनका अनुसार राज्यको इच्छा लाई साकार तुल्याउन अनि राज्यलाई नागरीकहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइकन्न हामीले चुनेर पठाएका प्रतिनिधिहरू र तिनैको जनताप्रतिको अभिभारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यका लागी चाहिने नियम कानुनको निर्माण, त्यसको पालना अनि कानुन विपरीत गर्नेहरूलाई दण्ड सजायको व्यवस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रिक अभ्यासले सुनिश्चित गरेको भए तापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरू सहज प्रशासन अनि सुलभ राज्यको पहुँचमा छैनन् ।
हामी मध्य धेरै जना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिराखेका छौँ, भोलि गएर निजामती सेवालाई अझ प्रभावकारी र स्वच्छ बनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको कर वाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनीति र कर्मचारीतन्त्र विच स्पष्ट सिमाङ्कन होस, एउटा पारदर्शी, सेवामुखी र भ्रष्टाचारविहीन प्रशासनको परिकल्पना पूर्ण होस ।निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको सबैलाई शुभकामना