कुण्डली तथा कुण्डली मिलान भनेको के हो ?

ज्यो.डा.सन्तोष उपाध्याय रेग्मी
एम.ए.ज्योतिष, पि.एच.डी.ज्योतिष

”प्रत्यक्षं ज्यौतिषं शास्त्रं,
चन्द्रार्कौ यत्र साक्षिणौ”

जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ

‘चिना’को अर्थ पनि व्यक्तिलाई चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्तालगाई त्यसैको आधारमा गणितगरी तयार पारिएको राशि चक्रलाई आधार मानि बाह्र राशि र सूर्यादि नवग्रहहरूको उदय-अस्त, उच्च-निच, मार्गी-वक्री, डिग्री, देश, काल आदि सहितको अनुकूल प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणित सिद्ध ज्ञान गराउने वस्तु भनेकै कुण्डली या चिना हो र त्यसै कुण्डलीको आधारमा फलादेश गर्न सकिन्छ । ग्रहको स्थितिलाई विचार गरी फलादेश गर्ने व्यक्ति गलत हुन सक्छ तर विद्या कदापि गलत हुन सक्दैन र हुँदैन पनि ।

प्राणीहरूको सम्पूर्ण जीवन कालमा भिन्न-भिन्न अवस्था र भिन्न-भिन्न रूपले प्रत्यक्ष प्रभावित पार्नु ग्रहहरूको महादशा र अंतर्दशाको परिणाम हो । जीवनमा कुन समय सुखदायक र कुन समय अरिष्टप्रदयक हुन्छ, भाग्योदय कहिले हुन्छ, माता, पिता, बंधु, संतति, स्त्री/पुरुष, सम्बन्ध, शिक्षा, रोजगारी, आर्थिक, विदेश आदिको सुख कहिले र कस्तो हुन्छ ? विवाह कहिले हुन्छ ? कुन ग्रहले जीवनमा सुख-समृद्धि दिन्छ र कुन ग्रहले जीवनमा दुख-कष्ट दिन्छ इत्यादि सबै कुराको जानकारी सहित, ग्रहहरूको दशा र अंतर्दशाबाट जानकारी लिन सकिन्छ । अत: पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि ग्रहगोचरीय अवस्थाको प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो ।

“वेदश्चक्षुकिलेदंस्मृतं ज्योतिषम्” सिद्धान्तशिरोमणिमा भनिएको छ । अर्थात् ज्योतिष वेदको आँखा हो । वेदले बताएका कुरा जान्न ज्योतिषको ज्ञाना अनिवार्य रहन्छ । ज्योतिष शास्त्र वेदको मुख्य अङ्ग हो । जसरी हामी आँखा विनाको संसार परिकल्पना गर्न सक्दैनौ त्यसैगरी ज्योतिष विना वेद तथा जीवनको वारेमा जान्नपनि सकिदैन । विशेषतः ज्योतिष शास्त्र कालबोध गराउने शास्त्र हो । यसले समयको अवस्थिति अनुकूलन प्रतिकूलन के कस्तो छ सोको तथ्य कारण सहित प्रस्तुत गर्दछ, जसरी मौसम तथा पूर्वानुमान साखाको जानकारी अनुसार छाता बोकेर हिँडे राम्रो हुन्छ त्यसरीनै ग्रह र राशिको सम्बन्ध, महादशा-अन्तर्दशा, अनुकूल तथा प्रतिकूल समयको अवस्था हेरी कार्य गरेमा अवस्य छाताको काम गर्नेछ । त्येसैले ज्योतिषलाई जीवनको मार्गदर्शनको रुपमा लिएको छ भनिन्छ “ज्योतिषम् नेत्रउच्यते” ।
कुनैपनि व्यक्तिको कुण्डलीका आधारमा जातक को भविष्य वाणी गर्न सकिन्छ । कुण्डलीमा रहेको पहिलो भावबाट शरीर र स्वभाव हेर्न सकिन्छभने दोस्रो तथा अन्य भावबाट क्रमशः आर्थिकस्तर-वाणी-पराक्रम, दाजुभाइ-दिदीबहिनी-साथीभाइ र पारिवारिक सम्बन्ध, भौतिकसुख-वाहन-घरसम्बन्ध-भूमि-अध्ययन-अध्यापन, सन्तान योग-बुद्धि, शत्रुसंगको सम्बन्ध-रोग, वैवाहिक-व्यापार-मंगल समय-पतिपत्नी बिचको सम्बन्ध, आयु-दुर्घटना-बिघ्न-अपमान, भाग्य-धर्म-शिक्षा, कर्म-पेशा-पद-पिता पुत्र सम्बन्ध-सुख, आम्दानीका स्रोतहरू-भाग्य-ऐश्वर्य र द्वादश भावबाट खर्च-वन्धन-दु:ख-कारागार आदिको विचार गर्न सकिन्छ ।

कुण्डली मिलान के हो ?
सनातन संस्कृति, वैदिक परम्परा षोडश संस्कारमा निहित छ जातकको षोडश संस्कार अन्तर्गत विवाहको महत्वपूर्ण स्थान छ । माता-पितालाई आफ्ना सन्तति तरुणावास्थाको भएपछि वैवाहिक जीवनको चिन्ताले सताउने गर्दछ ।

मेलापकको समय ध्यानदिनु पर्ने कुरा विवाहको उद्देश्य गृहस्थ आश्रममा पदार्पण हुनुका साथै वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्नु हो । आफ्नो छोरा या छोरीको लागि योग्य एवं सर्वगुण सम्पन्न जोडी बनुन् भन्ने चाहना हुन्छ र सर्वगुण सम्पन्न जोडी कसरी हुन्छन् त ? यसबारे संक्षिप्त चर्चा गरौं:

भावी दाम्पत्यको कुण्डली मिलान जसलाई ज्योतिषीय भाषामा ‘वरवधु मेलापक’ भनिन्छ । बैदिक परम्परामा कुण्डली मिलान अति आवश्यक मानिन्छ । ज्योतिष शास्त्रले मेलापकमा भिन्न भिन्न आधारमा गुणको जम्मा संख्या ३६ निर्धारित गरेको छ, जसमा १८ या त्यस भन्दा बढी गुणको मिलान भए विवाह र दाम्पत्य सुखको लागि उत्तम मानिन्छ ।

वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम् ।
गणमैत्रं भकूटश्च नाडी चैते गुणाधिका: ।।

मुहूर्तचिन्तामणि अनुसार:-१ वर्ण, २ वश्य, ३ तारा, ४ योनि, ५ ग्रहमैत्री, ६ गण, ७ भकूट, ८ नाडी यथा क्रमले संख्या अनुसार गुण निर्धारण गरिन्छ र त्यसै गुणका आधारमा भावी दाम्पत्यको भविष्य निर्धारण गरिने भएकाले कुण्डली मिलान अति आवस्यक छ ।

कुण्डलीमा गुण मिलनका साथै मंगल दोष सहित सप्तम भाव एवं सप्तमेश दाम्पत्य सुख प्राप्तिको लागि विशेष महत्व छ । यसका साथै द्वितीय भाव एवं द्वितीयेश, पंचम भाव एवं पंचमेश, एकादश भाव एवं एकदशेश, द्वादश भाव एवं द्वादशेश आदिको विचार गर्न आवस्यक हुन्छ । यस विषयमा योग्य एवं जानकार ज्योतिषी पण्डितको सल्लाह लिनु आवस्यक छ र यी सबै राम्रो भए मात्र दाम्पत्यजीवन प्रेम र सामन्जस्यले परिपूर्ण परिवार भई यो संसारमा रहेरपनि स्वर्गको अनुभूति गर्दछन् ।

कुण्डली एवं चिना वस्तवमा व्यक्तिगत विवरण पत्र नै हो । त्यसमा जातकको चिनारी प्रस्तुत गरिएको हुन्छ । व्यक्ति जन्मदा कुन भुगोल, कुन खगोलीय अवस्थिति थियो ? भूगोल अन्तर्गत पनि कति अक्षांश र देशान्तरमा उसको जन्म भएको, कुन गोत्र, प्रवर, थर,शाखा,तीनपुस्ते विवरण सहित तिथिमितिको परिपक्व दस्तावेज वास्तु नै चिना हो भने ‘वरवधु मेलापक’ अर्थात् कुण्डली मिलान दाम्पत्यजीवनमा प्रेम र सामन्जस्यले परिपूर्ण परिवार, सुख र स्वर्गको अनुभूति, वंश वृद्धि र उत्तम दाम्पत्य सुख प्राप्त गर्न निकै आवस्यक छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *